‘गोरिल्ला ग्लास’ अमेरिकाको कर्निङ कम्पनीले उत्पादन गरेको विशेष प्रकारको ग्लास हो। यो हलुका, पातलो र बलियो भएका कारण स्मार्टफोनहरुमा ‘गोरिल्ला ग्लास’ प्रयोगको मात्रा बढिरहेको छ।
सन् १९६० ताका कर्निङ कम्पनीले रसायनिक हिसावले बलियो ‘मसल ग्लास’ ल्याएको थियो जुन ‘केमकोर’ नामले प्रख्यात थियो। यसलाई अटोमोटिभ, एभिएसन र फार्मासियूटिकल उद्योगहरुमा प्रयोग गरियो। यसैक्रममा एप्पल कम्पनीका स्टिब जब्सलाई प्लाष्टिकका ग्लासहरु फुट्ने र चर्कने समस्याका कारण फोनका लागि बलियो ग्लास चाहिरहेको थियो। जब्सले कर्निङ कम्पनीलाई गोरिल्ला ग्लास बनाउने अर्डर दिए र यसप्रकार गोरिल्ला ग्लासको जन्म भयो। जब्सले आइफोनमा यसको प्रयोग गरे र याे सन् २००७ मा सार्वजनिक गरिएको भएकाे हाे।
सन् २०१२ मा आएको गोरिल्ला ग्लास २ सुरुको गोरिल्ला ग्लासभन्दा २० प्रतिशत पातलो छ। त्यस्तै सन् २०१३ मा सार्वजनिक भएको गोरिल्ला ग्लास ३ अघिल्लो संस्करणभन्दा ३ गुणा बढी स्क्रयाच रेजिस्ट्यान्स (नकोरिने) छ जसले गहिरो कोराइबाट पनि बचाउने क्षमता बढाएको छ।
यसपछि सन् २०१४ मा आएको गोरिल्ला ग्लास ४ को मोटाई र स्क्रयाच रेजिस्ट्यान्स क्षमता गोरिल्ला ग्लास ३ कै जस्तो छ। तर यसपटक कम्पनीले सामान्य तवरले फोन कोरिने समस्याभन्दा पनि अकस्मात् र दुर्घटनाबाट फोनमा हुने क्षतिलाई ध्यानमा राखेको छ। त्यसैले गोरिल्ला ग्लास ४ यसका प्रतिद्वन्द्वी ग्लासभन्दा दुईगुणा बलियो भएको पनि बताइएको छ।
३.३ फिटको उचाइबाट भूँइमा खस्दा पनि यसको २० प्रतिशत भागमात्र क्षति हुने बताइएको छ। संसारमा अहिले अरबौँ फोनहरुमा गोरिल्ला ग्लासको प्रयोग गरिएको कम्पनीको भनाई छ।
गोरिल्ला ग्लासमा अल्काली–आल्मिनोसिलीकेटको पातलो पाना (sheet) राखिएको हुन्छ। यसलाई बलियो बनाउन ion-exchange प्रक्रिया अपनाइन्छ। यसप्रकार अहिले गोरिल्ला ग्लास स्मार्टफोन, ट्याब्लेट, ई–बुक, टिभी आदीमा प्रयोग गरिने लोकप्रिय ग्लास बनेको छ।
यसलाई अहिले एसस, हुवाई, एचटीसी, गगुल नेक्सस, एलजी, नोकिया, सामसुङ, लेनोभो, जीओनी, डेल, सोनी, माइक्रोम्याक्स, मोटोरोला आदी कम्पनीले आफ्ना विभिन्न मोडलमा गाेरिल्ला ग्लासको प्रयोग गरेका छन्।