Wednesday, July 1, 2015

तिमीजस्तो कालेसंग बिहे गर्दिनँ

‘तिमी त बुढी भइछौ’ उसको चाउरिएको अनुहार हेर्दै भनेँ।
‘तिमी त झन् बालख भएछौ’, बेञ्चमा लठ्ठी अड्याउँदै उसले जवाफ फकाई।
म हाँसे–तिम्रा खसम छैनन्?
स्वर्गे भइसके।
तिम्री जहान नी?
धेरै पहिले गाडी पल्टेर बिती।
छोराछोरा काँ छन् त?
एक्लै छोरो हो, अम्रिका बस्छ? डिभी परेर गयो। फर्किदैन रे अब। मैले छोराको नालिबेली एकै सासमा टुंग्याएँ।
अनि तिमीले छोरो पाएनौ?
पाएँ नि, जुम्लाहा। बाँचेनन्। छोरी छ। अस्ति मलाई छोड्न आएकी।
खसमले के गर्थे?
जागिर थियो हुलाक अड्डामा।
‘बिहे गर्नुअघि मलाई सम्झेनौ है?’ पुरानो भइसकेको गुनासो सुनाएँ।
‘तिमी पनि त एसएलसी दिएपछि भेटन आएनौं’ उसको पनि आफ्नै गुनासो रहेछ।
‘आउने भनेको एसएलसीपछि दाइले काठमाडौं ल्याउनु भो। यतै भुलेँ। त्यतिबेला अचेलको जस्तो मोबाइल, म्यासेज केही थिएन।’
‘म कति रोएकी थिएँ, विहे भएको रात। सिन्दुर हाल्नुअघिसम्म पनि फिल्ममा हिरो आएजस्तै आउँछौ कि जस्तो लाग्थ्यो। तर तिमी आएनौं’, उसको गुनासो मेरोभन्दा बढी रै’छ।
‘छोरी कहाँ बस्छे’? प्रसंग बदलेँ, मैले।
अष्ट्रेल्या। नर्स बनेर गकी। ज्वाईंसाप पनि उसैको भिसामा गका रे।
तिमी अष्ट्रेल्या गइनौं त?
गएँ। चित्त परेन। फर्केर आएँ। ह्याँ जति राम्रो कहीं लाग्दैन।
‘अब झन राम्रो लाग्छ’ मैले भने। ठ्याक्कै ५५ वर्षपछि हामी भेटिएका थियौं। भाग्यमा लेखेसी भेट हुँदो रै’छ।
***
‘हाम्रो घरमा आज नयाँ सदस्य आउँदै हुनुहुन्छ’ साहुले हामीलाई भेला पारेर भन्यो।
‘महिला कि पुरुष?’ एकजनाले प्रश्न तेर्स्यायो।
‘बुढी माउ आए फेरि बिहे गर्ने विचार छ र बुढा?’ सबै गलल हाँसे।
‘तन बुढो भएपनि मन त बुढो हुँदैन नि, छोराछोरीले पनि छोडेर गइहाले, सहारा पाए राम्रै होइन र?’ उनले दाँत बिनाका गिजा देखाए।
फेरि हाँसो थामिएन।
हामी नेपालमा खोलिएको पहिलो वृद्धाश्रममा थियौं। धर्म कमाउन नभई पैसा कमाउन खोलिएको पहिलो वृद्धाश्रम। बोर्डिङ स्कुलमा बच्चा बोर्डस गरेजस्तै हाम्रा छोराछोरीले त्यो वृद्धाश्रममा भर्ना गरिदिएका थिए। महिनाको २० हजार रुपैयाँ तिरे खान बस्न पाइन्थ्यो। ओखति मूलोको छुट्टै तिर्नुपथ्र्यो। महिना दिनअघिमात्र छोराले मलाई नेपाल आएर प्राइभेट लिमिटेडको ढाँचामा चल्ने वृद्धाआश्रम भर्ना गरिदिएको थियो।
दिउँसो सेतै पहिरनमा एक वृद्धा आइन्। उनलाई छोडन एक महिला र पुरुष पनि आएका थिए। एकछिन उनीहरुले साहुसँग कुरा गरे।
‘ल, मामु राम्ररी बस्नुहोला। केही पीर लिनुपर्दैन। सबै ब्यवस्था छँदै छ। पैसा जति चाहिए पनि पठाइदिन्छौं। मिले अर्को साल दशैंमा टिका थाप्न पनि आउँला।’ ती दुईजना उनका छोरी ज्वाईँ रहेछन्।
वृद्धाको कपडामात्र होइन कपाल पनि सेतै थियो। सेतो उज्यालो त उनको मुहार पनि थियो तर च्याउरीले चमक उडाएको थियो। छोड्न आएका उनका छोरी ज्वाईँ छुट्टिन लाग्दा उनको अनुहारमा असारको बादल मडारियो। उनीहरू गेटबाट निस्केपछि आँशुले भरिए उनका आँखा र पोखिए मुजा परेका गालामा छाल बनेर।
‘राम्ररी जानू, ख्याल गर्नू है आफ्नो’ उनले छोरीलाई हात हल्लाइन्। उनका आँशु हेर्दा लाग्थ्यो छोरीलाई उनले पराइ घरमा दुलही बनाएर अन्माइन्। तर छोरीले उनलाई बुढेसकालमा पराइ घरमा सुम्पेर गएकी थिइन्।
‘उहाँ सुलोचना जी, हाम्रो परिवारको नयाँ सदस्य’ मन्द मुस्कानसहित साहुले उनको परिचय गरायो। उनले सबैलाई हात जोडेर नमस्कार गरिन्। परिवारको सदस्य भएकोमा हामीले तालीले स्वागत गर्‍यौं। छोरी ज्वाइसँग छुट्टिँदा भिजेका आँखा पुछेर उनले मुस्कुराउन प्रयत्न गरिन्।
सुलोचनाको अनुहारको धमिलो छाँया मेरो दिमागमा घुम्यो। चिने चिनेजस्तो लाग्यो। त्यो रातभर सम्झनाका सबै पत्र उतारेर मैले उसलाई ठम्याउने प्रयत्न गरेँ। अबेर राति सम्झेँ– उ सुलोचना खड्का पो हो त। आठ कक्षासम्म सँगै पढेकी।
अर्कोदिन बिहान मर्निङ वाक निस्कँदा उसँग कुरा भयो। रातभरी सोचेर ठम्याएको साँचो रै’छ। ‘भानु....’ ऊ मलाई चिनेर अचम्मित भई। बाटो छेउको बेञ्चमा बसेर हामी बात मार्न थाल्यौं– तिमी त बुढी भइछौ, सुलोचना।
***
‘सुलोचना म तिमीलाई ब्या (विहे) गर्छु।’
‘नाईं, तिमीजस्तो कालेसँग म ब्या गर्दिनँ’,  खुट्टाले जमीनमा खोस्रदै ऊ भन्थी।
‘छाला कालो भएर के भो त मन गोरो छ नि’ म उसको हात समाउँथे।
‘पर जाऊ। कसैले देख्यो भने मार्छन्’ ऊ दौडन्थी। 
‘म छु नि सुलोचना’ म पाखुरा देखाउँदै उसको पछि दौडन्थेँ।
स्कुल जाने बाटोमा जंगल थियो। त्यही जंगलको बाटोमा हामी अरूका आँखा छल्दै अंकुराउन लागेको प्रेमका कुरा गथ्र्यौं। विवाहका कुरा गथ्र्यौं भविष्यका कल्पनामा हराउँथ्यौं अनि सन्तानका कुरामा अलिझन्थ्यौं। ऊ मलाई काले भन्थी। तर, माया बहुत गर्थी। टिफिनमा सधैँ उसैले ल्याएको खाजा खान्थें। खाजा खाइसकेपछि मेरो मुख पनि ऊ आफ्नै रुमालले पुछिदिन्थी। 
एक छोरा एक छोरी। सानो तर चिटिक्क परेको घर। म मास्टर उ गृहणी। हामीले ८ कक्षा पढ्दादेखि नै जीवनको सबै खाका कोरेका थियौं।
‘हाम्रा छोराछोरीको नाम के राख्ने?’ ऊ सोध्थी।
‘छोरी जन्मे सुभा, छोरा जन्मिए भासु।‘
‘छ्या कति नराम्रा नाम’ ऊ नाक खुम्चाउँथी।
‘नराम्रा भएर के भयो, हाम्रा नामको पहिलो अक्षरबाट सुरु गरे यस्तै नाम बन्छन्।’ म नामको अर्थ खुलाउँथे।
‘नाईँ पण्डितलाई देखाएर राख्ने’ ऊ जिद्धी गर्थी।
‘ल छोरीको नाम म आफैं राख्छु, छोराको तिमी नै पण्डितलाई देखाएर राख्नू’ हाम्रो घरमा छोरी नभएकाले मलाई छोरी हुनुपर्छ भन्ने लाग्थ्यो। सुलोचनाका ४ दिदी बहिनी थिए। भाइ नभएकाले घरका सबैको हेला सहेकी आमा देखेकी उसले छोरा नै रोज्थी।
तर समयले हाम्रो जीवनको खाका अर्कै कोरेको रै’छ। नौ कक्षामा पढ्दा सुलोचनाको परिवार बसाईँ सरेर चितवन जाने भयो।
आठ कक्षाको मार्कसिट र सर्टिफिकट लिन आउने दिन उसले छिमेकी भाइसँग सन्देश पठाई–स्कुल आउनू जरुरी काम छ। आठ कक्षाको जिल्लास्तरीय परीक्षामा प्रथम भएको थिएँ। सुलोचना सेकेण्ड। खुसीको सीमा थिएन। तर, सुलोचनाको जरुरी कामको सन्देशले मनमा पहिरो गयो।
ऊ हामी गफिने त्यही जंगलको बाटो छेउमा हातमा मार्कसिट र सर्टिफिकेट समाएर मुर्तिजस्तै उभिएकी थिई। सँधै उटपट्याङ कुरा गरेर सताउने मैले त्यो दिन बोल्न सकिनँ। निक्कैबेरपछि बोली फुट्यो– मलाई छोडेर जान्छ्यौ?
उसले गहिरिएर मेरो अनुहार हेरी– सँगै राख्छौ त?
उसको प्रश्नले अलमलिएँ। १४ वर्षको थिएँ। दाइहरुको पनि बिहे भएको थिएन। हिम्मत आएन। सुस्तरी भनें – तिमी जाऊ बरु।
शब्द सकिन नपाउँदै उ मेरो छातीमा टासिन आई। बरबरी आँशु बगाउन थाली।
‘नरोऊ, त्यो चितवन कति नै टाढा हो र? एसएलसी परीक्षा सकिएको अर्को दिन म बजारबाट सिधै तिमीलाई भेटन आउँछु, घरै नआई। अनि ब्या गरौंला।
खिस्रिक्कै आवाज आयो। ऊ मेरो अंगालोबाट अत्तालिँदै निस्किई।
साँझ पर्न थालेको थियो। उसको गाउँमा डाँडाको छायाँ आइसकेको थियो। माथि रहेको मेरो गाउँमा घामका पहेँला किरण परेका थिए। छुट्टिनेबेला उसले मलाई रुमाल उपहार दिई। मैले उसको हात समाएर चुम्मा खाँदै भने– छोरी भए सुभा, तिमी अगाडि। छोरा भए भासु, म अगाडि।
‘बदमास‘, उ मुस्कुराई।
***
हामी कति अभागी रै छौं, सुलोचना?
किन?
बिहे गर्न पाएनौं नि।
तिमीले पनि कसैसँग गरिहाल्यौ, मैले पनि गरेँ। जिन्दगी काट्नु थियो, काटिहाल्यौं। किन बेकारमा चिन्ता गर्छौ।
मैले फेरि सोधेँ– हामी त कति अभागी रै छौं है, सुलोचना?
उसले फेरि सोधी– किन?
‘हामीले सुभा र भासु जन्माउन पाएनौं।
यसपल्ट ऊ केही बोलिन। ‘म मास्टर, तिमी गृहणी। चिटिक्क परेको घर। दुई छोराछोरी। हाम्रो संसार कसरी यस्तो भयो?’ मैले उसको अनुहार नियालेँ।
‘छोड ती सबै कुरा। जे भयो भयो। बरु धर्मकर्मका कुरा गर। बुढेसकालमा पनि तिमी त झन बालख झैं कुरा गर्छौँ।‘
धर्म कर्मकै कुरा गरेको सुलोचना। मर्ने बेलामा हिरन हाल्ने मान्छे छैन्। मरेपछि दागबत्ति पनि कसले देला? बर्खी बारेर किरिया कसले गर्ला? अम्रिकाको छोरालाई नेपाल आएर १३ दिनसम्म किरिया गर्ने पक्कै फुर्सद छैन। वैतरणी नदीको पीर लाग्छ, सुलोचना नर्कमा परिने भो।
अब के नै गर्न सकिन्छ र? ऊ गम्भीर बनी।
भासु र सुभा जन्मेका भए हामीलाई छोडेर जाँदैनथे होलान्। मैले लामो सुस्केरा हालेँ।
उसले गहिरो रहस्य बुझे जसरी भनी-तर अब म छोराछोरी जन्माउन सक्दिनँ।
मैले यो जुनिको कुरा गरेको होइन लाटी। अर्को जुनिमा हामी आमाबुवालाई सँधै माया गर्ने, कहिले छोडेर नजाने छोराछोरी जन्माउँला।
ऊ मेरो छातिमा लटपटिई र भनी-पक्का।
त्यतिबेला हामीलाई देख्ने कोही थिएन। बेञ्चका दुई छेउमा भएका हाम्रा सहारा दुई लठ्ठीबाहेक।

Related Posts:

Popular Posts

Blog Archive

Copyright © 2016 Google Dai. Powered by Blogger.